अवचेतन मस्तिष्क -8

Debicharan.sedai@gmail.com/ September 27, 2022/ लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ


आज बिहानै उठेर न्वाइध्वाई गरेर जितेन्द्र हिड्यो गुरु कहाँ । उसले घरको खाँबो गाड्ने निर्णय गरेर मिस्त्री पनि बोलाएको छ। मिस्त्रीले छड काटेर खाँबा बनाइसकेका छन । पूजा गरेर खाँबो गाड्ने कुरालाई लिएर ऊ गुरु कहाँ हिँडेको । जाँदा बाटामा ऊ सोच्दै गयो – गुरुले उसलाई तेरो त घर छँदैछ किन फेरि अर्को घर बनाउनु पर्‍यो भनेर सोधे भने के भन्नु ? गुरुले यदि सुन,चाँदि,तामा,फलाम आदिका प्रतिमा चाहिन्छ ठिक पारेको छस भनेका खण्डमा के उत्तर दिनु ? आफैलाई शान्त्वना दिँदै ऊ सोच्छ – भैहाल्छ नि ती पनि उहा पुगेपछि । ऊ अघि बढदै जान्छ गुरुका घरतिर । गुरुको घर नपुग्दै पानी दर्क्यो । त्यहाँ छेउछाउमा कतै ओतिने ठाउँ थिएन ।गुरुका घरको सिकुवामा पुग्यो ऊ । घर चुहेर जताततै धारा बगिरहेको देख्यो उसले । कसैलाई बोलाएन उसले । पानीले बनाएको बिजोग मात्र हेरिरह्यो । समय जति अघि जाँदैछ पानी त्यति नै दर्किरहेछ । त्यही दर्किएको पानीमा जसैतसै ओत लागेर बसेपछि ऊ एकोहोरिन्छ – “मेरो घरमा त यस्तो बिजोग त छैन तै पनि म घर बनाउने तर्खर गर्दै छु । यी गुरुले किन घर नबनाएका होलान? के गुरुसँग रुपियाँ नभएरै घर नबनाएका हुन त ? यी गुरको घर बनाइदिनु पर्नेरहेछ । विजय कल्याण सबैलाई लिएर गाउँमा चन्दा सङ्ग्रह गरेरै भए पनि गुरुको घर चाहिँ बनाउनु नै पर्नेरहेछ । म आफैँ तीस हजार दिन्छु बरु । सबैले धेर थोर दिएभने गुरुको घर पक्काकै बनाउन सकिने हुन्छ । ए विजय मैले तीस हजार दिँदा तँपनि दश हजार त दिन सक्छस नि हैन? यसैगरी सबैले दिए दुई तीन लाख भैहाल्छ नि । चन्द्रलाई पनि भनिहेर्नुपर्छ उसले पनि त देला केही । कसैले सिमेण्ट ,कसैले बालुवा,कसैले के कसैले के गर्दा पनि घर त बनिन्छ नै । ” उसको त्यस सोचलाई बिजुलीको चम्काइले भताभुङ्ग पारिदिन्छ । ऊ बाहिर भिजेको भिज्यै घण्टाभर बस्दा पनि कोही निस्केनन

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *