अवचेतन मस्तिष्क – 6

Debicharan.sedai@gmail.com/ September 23, 2022/ लघुकथा/ 0 comments

– देवीचरण सेडाईँ

जितेन्द्रले घरमा भएका गुन्द्रुकका बट्टामा भाङ राख्ने हुँदा चन्द्रकहाँबाट ल्याएका खसखसका बट्टामा गुन्द्रुक राखेको रहेछ । त्यही गुन्द्रुक विजयलाई दिएर पठाएका थिए । विजयले त्यो बट्टा देख्नेसाथ चन्द्रकहाँबाट ल्याएको भन्ने चिन्दछ र सोध्छ -“भाउजू यो बट्टा त चन्द्रका घरबाट ल्याएको जस्तो छ त के हो?” अस्तिका दिन दाइ जानु भएको थियो चारोटा बट्टा लिएर आउनु भएको थियो र तिनै बट्टामा गुन्द्रुक राखेको हो । विजयलाई अलिकति शङ्का थियो कतै त्यही खसखसको बट्टामा राखेको गुन्द्रुकले हामीलाई निसा लागेको त हैन ? ऊ त्यही निसा लागेको कुरालाई सम्झिरहेका बेला विष्णु कट्टेल बा विजयका घरमा पुगेर विजयलाई नै सोधेछन -“ए विजय अनि जितेन्द्रले तिमीहरूलाई के गर्‍यो अरे ?”

उत्तरमा विजयले भनेछ – ” हैन दाजै जितेन्द्र दाइले त केही गरेनन तर चन्द्रले चाहिँ नराम्रो काम गरे । तपाईंलाई सुके खोकी लाग्दा ल्याइदिएको खसखसको बट्टामा जितेन्द्र दाइले गुन्द्रुक हालेका रहेछन, त्यो बट्टामा राखेको गुन्द्रुक हामीले खाँदा कसरी हो खै सबैलाई निसाले छोप्यो ।”
विजयको कुरा सुन्नासाथ उनले भने – “त्यो खसखसको बट्टाको औषधि खाइसकेपछि त्यो बट्टा अर्थोक केहीमा प्रयोग गर्नु हुँदैन । भाङ, धतुरो भन्दापनि धेरै निसा हुन्छ खसखसको , धन्न आमैलाई केही भएनछ । होस गर्नुपर्छ विजय नत्र दुःख पाइन्छ । ल म गएँ भनेर उनी घर गएपछि चन्द्रले बोलाएको सभामा भनेर विजय पनि गयो ।
सभामा चन्द्रलाई जितेन्द्र भन्दै रहेछ – ” भाङ अफिम हैन नि । अफिम राखेको बट्टामा जे राखेपनि निसा लाग्छ तर भाङ राखेको बट्टामा कुनै चिज राखेपनि भाङको निसा रहँदैन । ” त्यसपछि नै विजयले विष्णु दाजुले भनेका सबैकुरा सभामा सुनाएपछि चन्द्र एक न दुई हुन्छ र अन्जानमा आफूले गरेको गल्तीमा समाज समक्ष माफ माग्छ ।
सभाका सबैले जितेन्द्र निर्दोष भएको थाह पाउँछन् र समाजलाई सही बाटोमा डोर्‍याउन खोज्ने चन्द्रलाई राम्रो सोच विचार राखेर अघि बढने सल्लाह दिन्छन् ।
भोलिपल्ट जितेन्द्रले खाटबाकसबाट अलिकति रुपियाँ निकालेर गन्दै गरेका बेला उसको छोरो अविनाश र श्रीमती हीरा पनि आइपुग्दा ऊ झसङ्ग हुन्छ।उसले सबै रुपियाँ निकालेको भए ती रुपियाँको खुल्दुली हुने थियो होला तर उसले मुट्ठीमा आएजति मात्र गन्दा पनि एकलाख हुन पुगेकाले खाटबाकसमा भएका सबै रुपियाँ दश बाह्रलाख हुन सक्ने सम्भावना रहेछ भन्ने सोच्दछ । यिनै रुपियाँले गर्दा आजसम्म अशान्ति भैरहेछ अब चाहिँ काममा नलगाई भएकै छैन । उसले श्रीमती हीरा र छोरो अविनाशलाई यी रुपियाँले घर बनाउन थाल्ने कुरा सुनाउँछ । श्रीमतीलाई भने यी रुपियाँको खुल्दुली मनमा जाग्न थालेको उसले थाह पाइसकेको हुन्छ ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *