अवचेतन मस्तिष्क -4

Debicharan.sedai@gmail.com/ September 18, 2022/ लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ

आजको खबर कागजमा कल्याणपुरका इन्स्पेक्टर जयदीपलाई नयाँ प्रभात समाचार पत्रका सम्बाददाता भुर्तेल कृष्णले कसरी रिस्वत लिएको खबर गुप्तचर विभाग समक्ष पुर्‍याएर उनको कर्तुत स्पष्ट गराए त्यस कुराको भनक कसैले पनि पाउन सकेनन । कृष्ण भुर्तेल धेरैदिन अघिदेखिनै जयदीपको कालो कर्तुतमाथि विचार गरिरहेको उनैले भनेका छन । गरीव निमुखाहरूलाई दुहुने गाई जस्तो व्यवहार गर्ने चुसाहाहरूलाई सही मार्गमा ल्याउन जन साधारण सचेत हुनुपर्ने उनले भनेका छन ।रिस्वत लिनेलाई निर्मूल बनाउनु पर्छ भने जन साधारण सधैँ सतर्क र शुद्ध बाटोमा हिँड्नु पर्छ भन्ने उनको भनाई रहेको छ ।
अहिले गाउँमा चन्द्र कट्टेल र कृष्ण भुर्तेलले मानिसको मानसिकतामा परिवर्तन ल्याउन खोजेको स्पष्ट हुँदै आएको देखिएको छ । उनीहरूले पुलिस थानामा पुर्‍याइएका चारैजनालाई ल्याएपछि सबै मिलेर “भगत” गर्नेकुरो भएको चन्द्र कट्टेलका कानमा पनि पुग्छ । उनले भगत गर्ने कुराको विरोध गर्छन् । चन्द्रले भगतका विषयमा भनेका छन – “मानिसको मस्तिष्कमा भएका सन्तुलित अवयवलाई असन्तुलन गराउने साधनको प्रयोग गर्नु हो भगत गरेर चढाएको भाङरूपी प्रसादको ग्रहण । असन्तुलित मस्तिष्कले मानिसको सोचलाई साधारणबाट असाधारण तिर लिएर जाने गर्छ। त्यसैले त्यस्तो चिज शिवलाई चढाउने नियम हो । चढाउनु भनेको त्यो चिजको प्रयोग आफूले नगर्नु भनेको थियो,तर मानिसमा विकृति आएर चढाएपछि पनि खाने गर्छन् । जुन चिज ईश्वर प्रसन्न हुन भनेर आफूले त्याग गरी चढाइन्छ त्यसको प्रयोग आफूले गर्ने हैन , त्यसैले भगतमा चढाएको प्रसाद लिनु अपकार हुन्छ । म भगत गर्नुको विरोध गर्दिन तर त्यो चढाएको भाङ लिएको विरोध गर्छु । समाजलाई सही दिशातर्फ र शुद्ध जानकारी दिनुपर्छ र त्यसका विषयमा सम्पूर्ण जानकारी हुनुपर्छ । हामीले चढाउने कुराको अर्थ नजानेर आफैँ प्रयोग गरेका कुराले अर्थलाई अर्कैतिर लगेको छ । त्यसकारण मैले विरोध गरेको हो ।”
यी सबै कुरा थाह भएपछि भगतमा चढाएको प्रसाद कसैले नलिने कुरामा सहमति प्रदान गरेर जितेन्द्रले घरमा भगत गर्छन् । उनीहरूले त्यो चढाएको प्रसादरूपी भाङ ,धतुरो आज ग्रहण नगर्ने निर्णय लिन्छन् तर उनीहरूको असल कुरामा आघात हुने कुरालाई बाहिर बाहिर सही थपे पनि भित्र भित्र आफ्नो कुरामा स्थिर रहेर आँफू आफ्नै कुरामा चल्ने ईशारा गर्छन् । उनीहरूले आउँदा दिनमा कसरी चन्द्रे र कृष्णलाई पन्छाउन सकिन्छ त्यसलाई सोच्न थाल्छन् । आफ्नै घरमा भएको भगतमा पनि भाङ खान नपाउँदा ऊ पिरोलिन्छ । गाउँका मानिसहरू पूजा आजामा लागे तापनि जितेन्द्रको समूह चाहिँ त्यसबाट टाडिएर आफ्नै धन्दामा लागेका छन ।
भगत गरेर भाङ तान्ने निहुमा चन्द्रेले बाधा पुर्‍याउँदै गरेका कुराले धेरैलाई अफसोस लागेको हुनाले आ आफ्ना घर तिर लागे तापनि जित़ेन्द्रसँग मतो मिल्नेहरू एक जमात भएर बस्छन् । उनीहरू आफ्नो बानी सुधार्न नखोज्ने किसिमका थिए त्यसैले चन्द्र कट्टेलका कुरालाई वाहियात मान्दछन् । उनीहरू चन्द्रको कुरालाई एकथुकी सुकी सय थुकी नदी मान्दछन् । आफ्नो बानी बेहोरा सुधारेर समाज सुधार्ने कुरो आकासको चन्द्रमा छुन खोजे जस्तो मान्दछन् । समाजमा एकै मत र एकै आदर्शका मानिस कहिल्यै हुन नसक्ने कुरामा उनीहरू विश्वास राख्दछन् । काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने उखान सबैले अनुशरण गरेजस्तो देखिन्छ त्यस जमातमा । उनीहरूको मत आदर्श कसैसँग मिल्नेजस्तो देखिँदैन । उता चन्द्र भने आफ्नो आदर्शको कुरा सबैले मानिदिए भनेर ढुक्क हुँदै जान्छन् ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *