अवचेतन मस्तिष्क -3

Debicharan.sedai@gmail.com/ September 17, 2022/ लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ

जितेन्द्रकै छिमेकी हुन हरिहर बा । गाउँमा अधिकारी बा अथवा काइँला बा भनेपछि सबैले चिन्ने नाउँ। उनैको घरमा सत्य नारायणको पूजा थियो मानिस सबै त्यही पूजामा थिए । यता जितेन्द्रका घरमा भने तासको फुर्ती थियो । विष्णु कट्टेलको छोरो चन्द्रे गाउँ सुधार्ने कुरामा लागेको गाउँका किशोर किशोरीदेखि बूढापाकालाई पनि थाह थियो। गाउँमा मादक पदार्थ,जुवा तास र अन्याय अत्याचारको विरोध गरेर गाउँमा एक स्वच्छ समाज गठन गर्नसके मात्र हाम्रो उन्नति हुने कुरामा चन्द्रेको विश्वास अडिएको थियो । गाउँका पढे लेखेकाहरूले उसलाई सहमति दिएका थिए भने केही अरू चाहिँ उसको विरूद्ध लाग्ने थिए । जितेन्द्र र हीरालाई ऊ काका काकी भन्थ्यो,तर पनि तास खेलाले गाउँको परिवेश विनष्ट बनाउन सक्ने सोचले गाउँमा तासखेला बन्द गराउने उद्देश्यले अन्तशुल्क विभागलाई उसले सन्देश दिएको हुनाले उनीहरूलाई थानामा पुर्‍याएका थिए । हीरालाई थाह थियो यो काम चन्द्रेले नै गरेको हो भन्ने। राति नै भए पनि हीरा चन्द्रेलाई भेटेर आउन जाँदै थिई । उसको बाटैमा चन्द्रेसँग भेटभयो । चन्द्रे हरिहर बाका घर पूजामा हिँडेको रहेछ। बाटैमा उनले भनिन -हेर छोरा तेरा काकालाई पुलिसले लगेको थाह पाइस होला,तेरा काकाले काम नगरे हाम्रो घरमा आगो जोरिँदैन । काकालाई ल्याइदे छोरा अब उप्रान्त तास नखेल्ने कबुलनामा गराएर ले छोरा ,यो काम तैँले मात्र गर्न सक्छस्। अरू कसलाई भन्न जाउँ म? तैँले गर्न खोजेको नराम्रो हैन तर के गर्छस् तेरा काकाको लत बिग्रेर तासमा लागेका छन् ,अब सुधार्नुपर्छ। मैँले भन्दा नमानेकाले आज थानामा पुग्नुपर्‍यो ।
भोलिपल्ट बिहान ऊ भुर्तेल कृष्णलाई लिएर थानामा गयो । पुलिसले पाँच पाँच हजार चाहिन्छ भनेको कृष्णेले खबर बनाइसकेको थियो,उसले अनुसन्धान शाखाको गुप्तचर विभागलाई यो खबर दिइसकेको हुनाले अनुसन्धान शाखाले पुलिस इन्स्पेक्टरलाई समातेर लगेपछि चारैजनालाई चन्द्रेले थानाबाट छुटाएर ल्याएको थियो। थानामा सबैले अब उप्रान्त तास नखेल्ने कबुलनामामा सही गरेको कुरा सबैका सामु फिँजियो । गाउँमा अब कसैले तास खेल्न नपाउने भए ।
एकातिर तासखेला बन्द हुने भयो भने अर्कोतिर इन्स्पेक्टरलाई नै गुप्तचर विभागले आफ्नो अधिनमा लिएका हुनाले रिस्वत लिने कुरालाई पनि जरैबाट उखेल्ने उसको परिकल्पनामा ऊ सफल भएको थियो । चन्द्रे एक सफल समाजकर्मी हुन लागिरहेकाले उसलाई सहयोग गरिहिँड्ने सबैले उसको जय जयकारको नारा लगाउने काम गरे ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *