अवचेतन मस्तिष्क -19.

Debicharan.sedai@gmail.com/ January 7, 2023/ लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ

एक्लै बसेर जाति र जातीयताको कुरा लिएर सोच्दै गरेका बेला चन्द्रले के गर्दै हुनुहुन्छ काका भन्दा जितेन्द्र आफ्नो सोचाइबाट वास्तविकतामा आउँछन र भन्छन् – चन्द्र मलाई यो गोर्खा र नेपाली शब्दले साह्रै पिरोलेको हुनाले त्यसै विषयमा सोच्दैछु । उनीहरू दुवै गफ गर्दै गरेका बेला भुजेल कृष्ण पनि आइपुग्छ। चन्द्र, जितेन्द्र र कृष्ण एकै ठाउँमा बसेर नेपाली र गोर्खाका विषयमा चर्चा गरिरहेका बेला कृष्णले नेपालदेखि बाहिर अरू देशमा स्थायी भएर बसेका नेपाली भाषी मानिस नेपाली नभएर गोर्खा भएको प्रसङ्गलाई पुष्टि गर्दै यसरी भन्छन् –
सन् 1559 मा खस र मगरहरू मिलेर द्रव्य शाहलाई गोर्खाको राजा बनाएपछि खसहरूले बोल्ने भाषालाई गोर्खाली भाषा भनिएको हो । अहिलेको नेपाल राष्ट्र बनिनुभन्दा पहिले देखिनै भारतमा अहिलेको नेपाली भाषा बोल्ने मानिसको बसोवास थियो । उनीहरूले आफूलाई खस,मगर, गुरुङ आदि नभनेर गोर्खा नामले चिनाउने गर्दथे तर पछि 1769 मा पृथ्वी नारायण शाहले बृहत नेपाल बनाए र उनीहरूले पनि आफूलाई नेपाली भन्न लागेका थिए। जब नेपाल एउटा सिङ्गो राष्ट्र बनियो त्यसपछि नेपाली शब्दको प्रयोग फिँजियो । सन् 1930 देखि नेपाली भाषाको मर्यादा नेपालमा बढेको भए तापनि सन् 1959मा मात्र नेपालको राष्ट्रभाषा का रूपमा प्रयोग भएको हो ।नेपालमा बसोबास गर्ने खस, किराँत जसरी गोर्खा हुन त्यसैगरी नेपाल बाहिर बसेका नेपाली भाषी मानिस पनि तिनै खस र किराँत भएकाले सबै गोर्खाका रूपमा चिनिएका हुन् । उनीहरू नेपालका नागरिक नभएकाले नेपाली कदापि हैनन्। नेपालका नागरिक चाहिँ गोर्खा भएपनि मधेसी भएपनि सबै नेपाली हुन् तर तिनै गोर्खा भारतमा हुँदा भारतीय हुन् । त्यसैले सबै नेपाली गोर्खा हैनन् र सबै गोर्खा पनि नेपाली हैनन् भनिन्छ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *