अवचेतन मस्तिष्क-15

Debicharan.sedai@gmail.com/ October 18, 2022/ लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ

सबै मलामी जति विजयका घरमा पुगेपछि चन्द्रले पद्मलाई बजार जाने कुरो गर्छन् । उता जितेन्द्र भने आफ्नै सोचमा निमग्न भएकाले ऊ अरूका कुरा सुनेको नसुने जत्तिकै भएको छ । “गुरुले चन्द्रलाई हकार्दै भन्छन् – यो मरिमराउको काममा हामी नयाँ ढाँचा र नयाँ कुरालाई थोपर्ने कुरो हुँदैन । जे चलेर आएको छ त्यसैलाई मान्नु उत्तम हुन्छ । उनको कुरा नसिद्धिँदै चन्द्र बोल्न लागेकाले ऊ झस्किएर यता उता हेर्छ ।”
चन्द्रले गुरुलाई सोध्छ – ” गुरुजी विजयले भने अनुसार एकजना मात्र बस्ने कोरो बारे हुन्छ नि ?”
त्यहाँ भएका सबैले हुन्छ हुन्छ भनेपछि गुरुले पनि हुन्छ मै सही थापे । हरिहर अधिकारीले हाम्रो परम्परा कसरी बसेको रहेछ त्यसको विस्तार सबैलाई सुनाएपछि पद्मलाई धोती,गञ्जी , कट्टु र चप्पल ल्याउन भन्छन् । गुरुले भन्छन् -” यो समय भनेको पवित्र भएर बस्ने समय हो । सेतो लगाउनु भनेको पवित्रताको प्रतिक हो । त्यसैले शुद्ध सेतो पहिरन लाउनु भनिएको हो । अघिका दिनमा अहिलेको जस्तो उपलब्धता थिएन त्यसैले सेतो भन्नासाथ खाँडी वा मार्किन भन्ने हुन्थ्यो । अहिलेको समय त्यस्तो छैन ,सबै कुरा उपलब्ध हुन्छ त्यसकारण हामी पनि संस्कारिक हुनु पर्छ । संस्कार भनेको परम्परा मात्र मान्नु हैन । हामीले त्यस किसिमको चलन चलाउनुपर्छ जहाँ परिवर्तनको कुरो न आवस् । त्यसकारण हामीले गरेको काममा केही सुधार गर्नु नपर्ने भनेकै संस्कार हो । “
भुर्तेल कृष्णले गुरुलाई सोध्छन् -” गुरु भाउजूहरूले कपाल कोर्ने बाट्ने कुरामा के युक्ति छ ?”
“ए कृष्ण यो समय भनेको व्रतको समय हो , यो समयमा सधैँ नुहाउने र स्वच्छताको प्रतिपादन गर्ने समय हो । सधैँ नुहाउनु भनेको कुनै विषाणुको सिकार हुनु नपर्ने कुरालाई प्रतिपादन गर्नु हो । जब उनीहरू सधैँ नुहाउँछन त्यसबेला कपाल बाटे भने त्यो कपाल गुम्सिएर जुम्रा पर्ने गर्छन् त्यसैले कपाल नबाट्नु भनिएको हो । कपाल बाटो भने त्यहाँ अरू जीवको सृष्टि हुन्छ भनेर कपाल नबाट्ने हाम्रो रीति भएको थियो। अहिलेको समय तथ्य र प्रमाणको समय हो , त्यसो हुँदा तथ्य र प्रमाण बिनाको कुराको कुनै महत्व हुँदैन ।”
त्यसपछि नै विष्णु कट्टेलले खाना बनाउन पाँच केजीको सिलिण्डारको बन्दोबस्त गर्ने कुरो राखेपछि सबैले स्वीकृति प्रदान गर्छन र दाउरा नबाल्ने कुरोले मान्यता प्राप्त गर्छ । अहिलेको समयमा दाउरा नपाउने र सबैले ग्यास प्रयोग गर्ने भएकाले ग्यास बाल्न सकिने कुरो सबैले मान्छन । त्यसपछि नै जितेन्द्रले कोरोबार्ने प्रसङ्ग निकाल्ने साथ चन्द्रले भन्छन्- ” सबै जातिको आ आफ्नो पहिचान हुन्छ , त्यही पहिचानले जाति छुट्टिन्छ । सबैले एउटै कुरा एउटै किसिमले गर्ने भएको भए जातिगत विशेषता के रहन्छ र जाति छुट्टिनु ? त्यसैले यो कोरो बार्ने हाम्रो विशेषता हो र यसलाई कायम राख्नु हाम्रो कर्तव्य मानिन्छ ।”
यसरी हाम्रा समाजमा चलेका धेरै कुराहरू माथि छलफल गरेर समाजलाई संस्कारमुखी बनाउने विचारमा सबै एकमतोमा मिल्न पुगेको देखिनासाथ सबै आ आफ्नो घरतिर लाग्छन् ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *