अवचेतन मस्तिष्क – 48.

Debicharan.sedai@gmail.com/ April 6, 2024/ Uncategorized/ 0 comments

-देवीचरण सेडाईँ

              आइतबारको दिन । हाटबजार जाने मानिस हाम्रै घर अघिको बाटो हिँडने गर्छन । हीरा पनि ककसले के के लिएर हाट जाँदैछन त्यही हेरेर बसेकी छिन । तल गाउँबाट निगुरो,बडेरो लिएर आउने मानिसलाई हेर्नु उसको लक्ष्य थियो । रगतमा कोलेस्टेरोलको मात्रा घटाउन र लौह पदार्थ बढाउन निगुरो उपकारी भन्ने उनले सुनेकी हुनाले निगुरो किन्ने उनको रहर । जङ्गलमा भेटिने सिस्नो,बुङ्गो, निगुरो आदि सागपात स्वास्थ्यका लागि लाभदायक हुन्छन् तर हाम्रा मान्छेले ती सबैलाई घृणाका दृष्टिले हेर्ने गर्छन। हाम्रो समाजमा सगुनपानी गर्ने विधान थियो। त्यसमा टोटेलाको फूल ल्याएर पानीमा भिजाएर सर्बत बनाउने गर्थे । त्यो टोटेलाको फूल भिजाएको पानीले पहेँले लागेको औषधिको कामगर्ने कुरो थोरैले मात्र जानेका हुन्छन । हीरा भने ती सबैमा किन आकर्षित भएकी हुन त्यो चाहिँ जान्नुपर्ने हो। लगभग एकघण्टा बाटो कुरेर बसेपछि सिस्नोको साग र कोदाको पिठो दुईकेजी लिएर उनी घर आइन । मधुमेह रोगको औषधिका रूपमा प्रयोग गर्न कोदाको पिठो हो भने भुँडीमा भएको विकारका लागि सिस्नोको साग भनेको उनले पनि सुनेकी थिइन् रे । उनी आउने साथै जितेन्द्रलाई भनिन – यो सिस्नो छुँदै पोल्छ यसलाई कसरी केलाई बनाइ गर्नु?
– अहिले यसलाई बाहिर पेटीमा राख ,यो भोलि बिहान खाने । यहलाई तातोपानीमा पाँच मिनेट जति राखेपछि यसको पोल्ने ताकत हराउँछ। त्यसपछि जे गरेपनि भयो भनेर भनेपछि हीरिले त्यसै गर्छिन ।
                  घडीले एघार बजेको सङ्केत दिइरहेको थियो । हीराका कुरामा लागेर समय निस्किसकेको उसलाई थाहै हुँदैन। त्यत्तिकैमा उसको मोबाइल बज्छ । उसले हेर्छ चन्द्रले गरेका रहेछन्। ऊ हत्तपत्त हीरालाई म राति मात्र आउँछु भनेर हिँडछ चन्द्रको घरतिर।
              बाटो लाग्ने साथ उसका दिमागमा त्यही कपास र सूर्यमुखीको कुराले घेर्नलाग्छ । अबत महिना दिन पनि लाग्दैन सूर्यमुखी काट्न । त्यसपछि अरु पन्ध्र दिन  भनेको लगभग डेड महिना । त्यतिखेर सम्ममा गाउँका सबैले गाई किनिसक्नुपर्छ । नत्र त्यो सूर्यमुखीको पिना त्यसै फाल्नुपर्ने हुन्छ। भोलि त बिहेको भोज छ । दुईदिन पछि गाउँमा सभा बोलाउन लगाउनुपर्ने भयो । यो काम कृष्ण र  विजयलाई सुम्पिएको राम्रो हुन्छ होला! गाउँका प्रत्येक घर मानिसले दुई दुई माउ गाई पाल्न लगाउनु पर्छ । सूर्यमुखीको पिना र कपासका गुटीको ढुटो त्यहीँ खपत हुन्छ। सबै घरको गोबर खेतमा कामलाग्छ । यसरी सोच्दासोच्दै चन्द्रको घर आइपुगेको थाहै हुँदैन जितेन्द्रलाई। पण्डालमा पाँच सात जना मानिस बहेका रहेछन । जितेन्द्र पुग्नासाथ कल्याण आएर भने – अनि दाजु ढिलो गर्नु भयो त !
– होइन हौ कल्याण मैले एउटा कुरो विचार गरेको , त्यसमा तिम्रो भनाइ के छ ?
– के कुरो विचार गर्नु भयो भन्नु न ,अनि पो आफ्नो मत राख्न सकिन्छ त ।
– भोलि त भोज छ ,पर्सि एउटा गाउँसभा राखौँ भनेको।
– किन दाजु?
– अब पैँतालीस पचास दिनमा कपास र सूर्यमुखी निकालिन्छ, त्यसको पिना र ढुटो खपत गराउन गाउँका प्रत्येक घरले दुई दुई माउ गाई पाल्न लगाउनु पर्छ।त्यसो गर्दा सबै काम सिद्ध हुन्छ होला भन्ने मेरो सोच ।
– हुन्छ नि अति राम्रो। यो कुरो कृष्ण र चन्द्रलाई पनि सुनाउनु पर्छ र अति चाँडै यस विषयमा सभा राखेको राम्रो हुनेछ। यी कुरा हामी भरे छलफल गरौँला अहिले बेहुलालाई पठाउने व्यवस्था गरिदिऊँ भनेर दुबै भित्र जान्छन । जन्ती जाने सबैलाई ख्वाएर बेहुलो बनाउन लागेका छन पुरोहित र कृष्ण। गाउँका वयोवृद्ध मानिस हरिहर अधिकारीलाई पनि पण्डालमा देख्दा बेहुलाका बावु विष्णु कट्टेल अत्यधिक खुसी हुँदै अधिकारी बालाई गोडामा ढोगेको सबैले हेरिरहेका थिए। बेहुलो अन्माउने बेलामा बेहुलालाई टीको लगाइदिने पहिलो व्यक्ति नै अधिकारी बा हुन । नातामा दाजुपर्ने अधिकारी बा नब्बे नाघिसकेका मानिस हुन । आफ्नै बावुका भानिज हुन विष्णुका। बेहुलो अन्माएपछि रातिको भोजनका परिकारहरूको तयारीमा लागे सबै ।
                 राति आठ नबज्दै बेहुला बेहुली आइपुगे । संस्कारको विधान अनुसार भित्र्याउने काम सकियो। त्यहाँ भएका आफन्तहरूले बेहुला बेहुलीलाई टीको लगाएर आशीर्वाद दिए । जन्ती गएका नगएका सबैलाई खाना ख्वाइसकेपछि सबै आ आफ्नो घरतिर लागे । नगेन्द्र र जितेन्द्र पनि भोलिको भोजको कुरा मिलाएर निस्के त्यहाँबाट।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *