अवचेतन मस्तिष्क – 47.

Debicharan.sedai@gmail.com/ April 3, 2024/ Uncategorized/ 0 comments

-देवीचरण सेडाईँ

           शनिबारको दिन असार  महिना । खेतमा मानिसको भीड हुनेबेला । हाम्रो खेत भने उद्योगिक खेत भएको हुनाले पहेँलपुर देखिन्छ । खेतका छेउमा भएको
बाटो नै सुगन्धित छ । कपास र सूर्यमुखीको सुगन्ध फैलिएको छ चारैतिर। गाउँको मूल बाटो छोडेर गाउँको पछिल्लो पट्टी भएको बाटो छोटो हुँदा हामी त्यही बाटोबाट चन्द्रको घर पुग्न हिँडेका । सबै आ आफ्नै सोचमा हिँडिरहेका बेला नगेन्द्रलाई सोध्छन कृष्ण – काका चन्द्रले विवाहपत्रमा के लेखेका हुन त्यस्तो! विवाह भोजमा आउँदा कुनै किसिमको दसी वा भेंट नल्याउन अनुरोध गरिन्छ। यस कुराले के सङ्केत गरेका हुन ?
– यो कुरा चन्द्रलाई नै सोध्नुपर्ला भनेर नगेन्द्रले आफ्नो उत्तर दिएपछि तीनैजना मौन व्रत लिए झैँ अघि बढ्दै जान्छन। जितेन्द्र भने कपास र सूर्यमुखीको सौन्दर्यमा विलीन भए जस्तो लाग्दैछ। उनले ती दुईजनाका कुरामा केही चासो राखेजस्तो लागेकै थिएन । आ आफ्नै सोचमा रहेकै बेला उनीहरू चन्द्रको घर अघि पुगेका हुन्छन्। बाटामा मटर साइकल र गाडीको लाम रहेछ ।
           बिहानदेखि पेण्डल बनाउन लागेका मानिसले पेण्डलको काम सक्न सक्न लागेका रहेछन। तिनीहरूको कामको हेर्चाह गर्न खटिएका रहेछन विजय र कल्याण। हामी पुग्नासाथ विजयले कृष्ण तिर आँखा पारेर भनिहाले – के हो कृष्ण , तिमीलाई बिहानै आउनु भनेको थियो रे किन ढिलो भयो? कृष्णले उत्तर फर्काउन नपाउँदै जितेन्द्रले भने – कृष्णलाई मैले बोलाएको हुँदा म कहाँ गएका थिए । त्यहीँ कुराकानी गर्दागर्दै ढिलो भएको हो । खोइ चन्द्र कता छन्?
– कल्याणले भने , बस्नुहोस न म चन्द्रलाई बोलाउँछु। त्यति भनेर एक दुई पाइला अघि के लागेका थिए चन्द्र त्यही आइपुगे । चन्द्रले सबैलाई अभिवादन गरेर भित्र लिएर गए । भित्र धेरै मानिसको समागम रहेछ । केही क्षण बसेपछि नगेन्द्रले चन्द्रलाई सोधे – आच्छा चन्द्र बिहेको चिट्ठीमा कुनै दसी वा भेंट नल्याउन अनुरोध गरिन्छ भनेर लेख्नुको अर्थ के हो?
– काका हामी आफ्नो संस्कृति जोगाउने कि अर्काको अनुकरण गरेर अर्काकै संस्कृति मान्ने?
– जाति, भाषा र संस्कृति सबैलाई आफ्नै प्यारो हुन्छ, त्यसैले आफ्नै संस्कृति अपनाउनु पर्छ भन्छु म ।
त्यति सुनेपछि चन्द्रले भने – हो , हामीले आफ्नै संस्क‌तिको सुदृढिकरण र संरक्षण गर्नुपर्छ जातीय हीतका लागि । संस्कृति जातिको पहिचान हो, त्यसैले मैले हाम्रो आफ्नै संस्कृति मान्ने सोचेर बिहेको चिट्ठीमा त्यसरी लेखेको हो। हाम्रो संस्कृतिमा बेहुला बेहुलीलाई आशीर्वाद दिन टीका वा तिलक लगाउने चलन थियो। दसी वा भेंट दिएर आशीर्वाद दिने हाम्रो चलन नभएको हुँदा र आफ्नै चलन अनुसार चल्ने व्यवस्था चलाउने प्रयास गरेको हो । टीको मात्र लगाएर आशीर्वाद दिए नै यथेष्ट हो भन्ने मलाई लाग्छ ।
– म सय प्रतिशत सहमत छु चन्द्र तिम्रो कुरामा । त्यसैबेला जितेन्द्रले जन्ती जाने प्रसङ्गमा भन्छन – जन्ती कतिबजे जाने अनि कतिजना?
– काका हामी एकबजे जाने । जाने मात्र दशजना। तपाईँ र कल्याण काकाले यहाँ हेरिदिनु पर्छ,हामी आठ नौ बजेतिर आइपुग्छौँ , सबैलाई खाना खाने व्यवस्था तपाईंहरूले गरिदिनुपर्‍यो । म भित्र गएर आउनुपर्‍यो । कसार बटार्ने काम सकियो होला भन्ने साथ साथै एउटी बहिनी आएर सबैलाई भित्र जाने आग्रह गर्छिन । सबै उठेर भित्र लाग्छन ।
           भित्र खाने व्यवस्था गरिएको । गाउँका ठूलाबडा मानिसको समागम । चन्द्रले गरेको आयोजनामा सबैले सन्तुष्टि प्रदान गरेकोमा चन्द्रको अनुहारमा खुसीको हाँसो झल्केको देखिन्छ। केही समयमै खानपिन सकिएपछि चन्द्रले सबैलाई भोलि भेला भैदिन आग्रह गरेर विदा गर्छन ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *