अवचेतन मस्तिष्क -39
देवीचरण सेडाईँ
अवचेतन मस्तिष्क -39.
लघुकथा (धारावाहिक)आज आइतबार। चन्द्रले किन आउँछु भनेका होलान्? यही समाज र मेल मिटिङ गरेरै दिन सकिने भए । एकातिर गाउँको विकासको कुरा आउँछ भने अर्कातिर अवैध नागरिकको थिचोमिचो। सरकारले पनि किन केही नगरेको होला! हुन त ती अवैध नागरिकको थिचोमिचो मलाई मात्र छैन तर पनि गाउँमा बसेपछि सबैको लागि केही न केही त बोल्नै पर्यो । यस्तै यस्तै कुरा मनमा खेलाएर बसेकै बेला बाहिरबाट काका घरमै हुनुहुन्छ भनेको सुनेर जीतेन्द्र जाँदा देख्छ चन्द्र र कृष्ण दुबै आएका रहेछन्।
- अनि कृष्ण,यतिका दिन कता हरायौ हौ ?
- के गर्नु काका ,यो जीवन यति व्यस्त भयो नि एकमुठी चारो टिप्ने समय पनि नपाइने जस्तो भएको छ ।
- किन ? प्रत्येक मानिसले आफैले आफूलाई व्यस्त बनाएको हुन्छ । कहिले सामाजिक काममा त कहिले आफ्नै सोचमा।
- हो हुन त तर व्यस्त नहुँदा पनि रोगलाग्छ कि भन्नेले सताउँछ। जीवन कर्ममय भयो भने रोग आउने बाटो बन्द भएको हुन्छ। त्यसैले पनि जीवनलाई व्यस्त बनाउनु आवश्यक हुन्छ।
-ठिकै छ व्यस्त जीवनले बाँच्ने उर्जा पाउँछ र सठिक रूपमा अघि बढन सक्छ । राम्रो हो । अनि चन्द्र तिमी अस्ती अवैध नागरिकको विषयमा के के सुनाउँछु भन्थ्यौ के थियो रे ? - काका, अघिल्लो महिनामा भएको राष्ट्रसङ्घको बैठकमा चीनियाँ सरकारले एउटा प्रस्ताव राखेको रहेछ , त्यो के भने विश्वका कुनै पनि देशमा अवैध मानिएका मानिसलाई चीनले शरण दिने र उनीहरूको सबै व्यवस्था गरिदिने रे । यदि राष्ट्रसङ्घले त्यो प्रस्ताव मानिदियो भने हाम्रो काम सफल हुनेछ।
- किन चीनले राखेको प्रस्ताव ग्रहण नहुन पनि सक्छ र ?
- खै काका,यसै हो भन्न सकिँदैन। चीनले ती मानिसलाई कुनै धर्म मान्न नदिने र शाकाहारी हुनुपर्छ भन्ने कुरामा लागेको छ भन्ने पनि सुनेको थिएँ ।
- चन्द्र,के ती मानिसहरूले त्यस किसिमको व्यवस्थालाई मान्लान्?
- काका अहिले तिनीहरूलाई केही भनेको छैन। उहाँ पुगेपछि मात्र त्यसको जानकारी दिने व्यवस्था चीनले गरेको जनाएको छ। अब हामीले त्यसको विषयमा सोच्नुपर्ने केही रहेको छैन । त्यसैले उद्योग स्थापना गर्ने प्रसङ्गमा हामी यही साताको अन्तिम दिन बैठक बसेर प्रतिवेदन तयार पार्नुपर्ने हुन्छ। अहिले हामी जान्छौँ काका भनेर दुबै निस्किन्छन्। जीतेन्द्र पनि केही हदसम्म ढुक्क हुन्छ।