अवचेतन मस्तिष्क – 17

Debicharan.sedai@gmail.com/ November 21, 2022/ लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ

सामाजिक विसङ्गति र मानवीयताको कञ्जुसीले आजको समाज विथोलिएको छ । समाजमा प्रचलित परम्परागत रीतिरिवाज माथि छलफल गर्ने प्रसङ्गमा धेरैले धेरै कुरा राखे पनि सिद्धान्त केही दिन नसकेको देख्दा असामञ्जस्यतामा परेको चन्द्रले गुरुलाई सोधेपछि गुरुले केही नभन्दा कृष्णले भन्छ – “गुरुजी हाम्रो समाजमा भएको यो चार जात कामको आधारमा छुट्याइएको थियो । त्यहाँ छुवाछुत भन्ने केही थिएन ,पछि जब खानपानमा भिन्नता आउन थाल्यो त्यतिबेला मानिसमा घृणाको भाव उब्जिन थाल्यो र छुवाछुतले समाजमा आफ्नो स्थान बनाउन सफल भयो। त्यही प्रसङ्गलाई लिएर सन् 1778 मा मल्ल राजाहरूले गुरु पुरोहितलाई साथमा लिएर बनाएको विधानले छुवाछुतको भावनालाई अझ मलजल गरेर समाजमा श्रेणी विभाजन गरायो। आजको समयले त्यो धारणालाई मान्न नखोजे तापनि परम्पराको घेरामा बसेका केही कट्टरपन्थी मानसिकता भएकाहरूले गर्दा त्यही विधान चलेको छ । तसर्थ आजको युग सुहाउँदो विधान तयार गरेर अघि बढ्दा नराम्रो त केही हुँदैन होला भन्ने मेरो धारणा।”
कृष्णका कुरामा पूर्ण सहमत जनाउँदै जितेन्द्रले भन्छ – ” यदि हामी एउटै जाति सूत्रमा बस्न चाहन्छौँ भनेँ हामीले अहिलेको परिस्थिति अनुसार विधानमा परिवर्तन ल्याउन अति आवश्यक हुन्छ र त्यसले सामाजिक विसङ्गति र मानवीयताको अवमूल्यनलाई हटाएर नयाँ समाजको निर्माण गर्न सकिने हुन्छ।”
कृष्ण र जितेन्द्रले आ आफ्ना कुरा युक्ति र तर्कसहित राख्दा पनि गुरुले केही भन्न नखोजेको कुराले समाज अझै धेरै पछि परेको कुरा बुझ्न कसैलाई गाहारो भएन। मानिसको अन्तर्मनको सोचलाई परिवर्तन गराउन अझै समय लाग्ने रहेछ भन्ने कुरा स्पष्ट हुन्छ। समाजका प्रणेता भनेका मानिस हुन्, मानिसले आफ्नो हितका लागि गरेका कुरा विधान हुन्। समय सापेक्ष विधान नभए समाज अघि बढ्न सक्दैन भन्ने कुरा थाह पाउँदा पनि हामी किन त्यस किसिमको विधान हुनुपर्ने कुरामा लाग्न सक्दैनौँ भन्ने प्रश्नले जितेन्द्रको मस्तिष्कलाई बार-बार विथोली दिन्छ। समाजका सबैले यी कुरामाथि चिन्ता चर्चा गर्न पन्ध्र दिन समय राखेर सबैलाई आ आफ्ना कुरा युक्ति सहित प्रस्तुत गर्नु पर्ने छ भनेपछि जितेन्द्र सबैको मुखतिर हेर्न लाग्छ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *