अवचेतन मस्तिष्क – 51

Debicharan.sedai@gmail.com/ April 29, 2024/ avachetan mastiska, गजल/ 0 comments

-देवीचरण सेडाईँ

       एकदिन दुईदिन गर्दागर्दै दुई महिना भैसक्यो अस्पतालको कोठा रुँगेर बसेको । जितेन्द्रको मानसिकतामा पहिलेको भन्दा धेरै सुधार आएको भए तापनि पूर्ण रूपले स्वस्थ भने अझै भएको छैन भन्नुपर्छ। उसले अझै पनि अवचेतन मै धेरै क्रियाकलाप गरेको अनुभव हुन्छ। उसलाई रुँगेर बसेकी उसकी श्रीमती हीराले धेरै अनुभव बटुलेकी छ । चेतनबाट कतिखेर अवचेतनमा पुग्छ थाहै हुँदैन। ऊ हीराको हातमा समाउँछ र भन्छ हीरा आज हाम्रो गाडी ल्याउने दिन , चन्द्र र कृष्ण हामी सँगै जाने भन्थे । तिनीहरूलाई फोन गर्नुपर्‍यो भनेर फोन खोज्दा उसका हात हल्लिएको देखिन्छ। अँ चन्द्र अनि जाने हैन ?
– ए काका , नमस्कार।आज त तपाईंको गाडी ल्याउने भन्नुहुन्थ्यो नि हैन ?
– हो नि । कृष्णलाई पनि भन अनि जाउँ।
– ल काका। तपाईँ तयार हुनुहोस् हामी आइहाल्छौँ ।
– सूर्यमुखी कति काटे ? ती फूल जति छुट्याएर सुकाउन लगाउनुपर्छ। पाँच सात दिनसम्म सुकेपछि झार्नुपर्छ।
– काका तपाईँ चिन्तै नगर्नु न ,सबै काम समाधा हुन्छ। कपास सुकिसक्यो ।अब पर्सि देखि कल चलाउने। हाम्रो काम सफल भयो । हामीले गाउँलाई उद्योगिक गाउँ बनाउन गरेको योजना सफल भयो । गाउँका सबैले गाई पाल्ने कुरालाई उचित मानेर गाई पनि किनिसके । कृष्णले दुग्ध उद्योगको सबै व्यवस्था गरिसके । छ हजारदेखि आठ हजार लिटरसम्म दुध हुने रहेछ । पाँच हजार लिटर  दुध बजार पुर्‍याउने र बाँकी रहेको दुधको पनिर बनाएर बेच्ने व्यवस्था गरेका छौँ । ल काका,हामी आउँदैछौँ , तपाईँलाई सबै कुराको जानकारी गराउने छौँ ।
           जितेन्द्र छटपटाएको अवस्था हीराले बुझेकी छे । ऊ अवचेतनमा छटपटाएको उसलाई थाह भैसकेको छ। त्यसैले अहिले हीरालाई त्यति चिन्ता लागेको छैन जति अघि अघि लाग्दथ्यो। फेरि केही समयपछि जितेन्द्र हात हल्लाउन लागेको देखिन्छ । ऊ चन्द्र र कृष्णसँग कुरामा लाग्छ । अनि काका किन ढिलो गर्नु र जाउँ , अहिले यहाँ ढिलो भयो भने भरे राति हुन्छ भनेर चन्द्रले भनेपछि सबै निस्किन्छन । कृष्णको गाडीमा जान्छन सबैजना। बाटामा गाउँ सभामा भएका सबै कुराको एक एक गरेर चर्चागर्दै जाँदा उनीहरूले शहर पुगेको थाहै पाउँदैनन्। उनीहरूले गाडी हेर्छन्। जितेन्द्रलाई रातो रङ्गको गाडी मनपर्छ।उसले सबैलाई आफ्नो मनको कुरा सुनाएपछि सबैले रातो गाडी ल्याउने कुरामा सहमति जनाउँछन्। गाडीको सबै काम कार्वाही समाप्त हुनसाथ चिया चमेना गरेर उनीहरू फर्किन्छन । जितेन्द्रले नयाँ गाडी चलाउने हुन्छ । तीन कोश जति आउनासाथ उसले एउटा ड्रममा गाडी ठोक्दा ऊ अवचेतनबाट चेतनमा फर्किन्छ। उसको सारा शरीर थरथराइरहेको देखिन्छ। हीराले डाक्टरलाई बोलाउँछे । एकैछिनमा डाक्टर नर्स सबै भेला हुन्छन त्यहाँ। जितेन्द्र किन थरथराइरहेको हो त्यसको रहस्य डाक्टर पत्तो लगाउन सफल भएको कुरा उजागर हुन्छ। डाक्टरले जितेन्द्रलाई सोध्छन – ‘तपाईँ डराउनु भएको कुरा तपाईँको चिन्तन हो । तपाईँ अहिले जुन अवस्थामा हुनुहुन्छ एकैछिन अघि त्यो अवस्थामा हुनुहुन्नथ्यो। तपाईँको मस्तिष्क चेतनमा थिएन तर जब तपाईँमा चेतना आयो त्यसले गर्दा तपाईँको सारा शरीर कामेको हो । अब चाहिँ तपाईंलाई त्यो अवचेतनले कुनै किसिमको असर गर्ने छैन । अब तपाईँ सम्पूर्ण स्वस्थ हुनु भएको अहिलेको अवस्थाले देखाउँछ। जितेन्द्र जी भन्नुहोस त तपाईंलाई के कस्ता कुराहरूले यतिदिनसम्म सताएको थियो?”
– डाक्टरसाब जुन दिन म दुर्घटनामा परेको थिएँ त्यसदिन देखि नै मलाई शहर र गाउँका बिचमा भएको भिन्नताले सताएको थियो। मेरो मस्तिष्क चेतनमा थिएन। मानिसको विकास र मानवीय मूल्यबोधको पक्षमा मेरो अवचेतन मस्तिष्क काम गरिरहेको थियो। अहिले ती सबै कुरा सम्झिन सक्दिन । जति सम्झिन सक्छु ती सबै म तपाईँलाई भोलि सुनाउने छु भनेपछि नर्सले जितेन्द्रलाई एउटा सुइ लगाएपछि हीरालाई छेउमा राखेर निस्किन्छन्।
           

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *