अवचेतन मस्तिष्क -29
देवीचरण सेडाईँ
अवचेतन मस्तिष्क -29.
लघुकथा (धारावाहिक)
समय सँगसँगै परिवर्तन हुनु र गर्नु गराउनु स्वभाव हो । जसरी मानिस सधैँ एकनास हुँदैन त्यसरीनै संसारको कुनैपनि कुरा एकै भएर नरहने कुरा सिद्ध हो। नियमदेखि बाहेक कुनै कुरा पनि परिवर्तन हुनु असम्भव वा अशुद्ध हुँदैन। सबै विधान मानिसले मानिसकै सुविस्ताका लागि बनाएका हुन्छन्।
यिनै कुरामा जीतेन्द्रको मानसिकता अल्झिरहेका बेला चन्द्र त्यहाँ आइपुगेर भन्छ – ” काका हामी सबैले यो गाउँ छोड्नु त पर्ने नै भयो तर जहाँ गए पनि हामीले त्यो ठाउँलाई एउटा आदर्श ठाउँ बनाउने कुरामा लाग्नुपर्छ।”
- हो चन्द्र,तर सबैले हामीलाई साथ दिएनन् भने के हामी सफल हुन सक्छौँ ?
- काका सबैलाई हामीले एकसाथ लिन सक्यौँ भने असम्भव भन्ने नै हुँदैन।
- चन्द्र हाम्रो गाउँ यहाँबाट नौ किलोमिटर टाढा पुर्याउनुपर्ने किन ? त्यस विषयमा केही सोचेका छौ ?
- हो काका मैले त्यस विषयमा एउटा लेख पढेको थिएँ। त्यस लेखमा उद्योगिक अधिनियम र उद्योगबाट फाइदा हुने कुरा लेखिएकाे थियो। कुनै पनि उद्योगबाट निर्गत भएको धुवाँले आठ आठ .किलोमिटरसम्म असर गर्नसक्ने हुँदो रहेछ, त्यसैले नौ किलोमिटर टाढामात्र बस्ती बसाउन पाउने प्रावधान रहेछ । नौ किलोमिटर टाढा पुगिसकेपछि धेरै जसो उद्योगको धुवाँ माटामा मिल्नपुग्छ । हुन त उद्योग अनुसार विधान अलग अलग हुन्छन् । कुनै कुनै उद्योग र बस्तीको दुरत्व डेढ किलोमिटर हुनुपर्ने छ भने कुनै कुनै उद्योग साढे दश किलोमिटर टाढा हुनुपर्ने विधान रहेछ। जे होस् सरकारले जनताको हित सोचेर नै यो दुरत्व कायम गरेको होला!
- भैगयो नि , अब हामीले यसै ठाउँलाई अघिको भन्दा उन्नत र रमाइलो कसरी बनाउन सक्छौँ त्यस विषयमा छलफल गर्नु जरुरी हो । सरकारले दिएको सहायतालाई शिरोधार्य गरेर हामी अघि बढ्नुपर्छ।
- काका के सबैले हाम्रो जस्तै सोच राखेका होलान् र?
- नराखेका भए हामीले सबैलाई एकमतोमा हिँडन विश्वस्त बनाउनुपर्छ। त्यसो गर्नसके हाम्रो उन्नति नहुने कुरै हुँदैन।
- ठिकै छ काका त्यसो हो भने आउँदो आइतबार सबै गाउँका मानिसलाई बोलाएर एउटा बैठक गरौँ र गाउँको भलो हुने कुरामाथि चर्चा राखेर अघि बढौँ । त्यसो भए हाम्रो भयो पनि मिल्छ गाउँको विकास पनि हुन्छ।
- ल ठिक छ ।हामी आइतबार छलफल गरौँला।