अवचेतन मस्तिष्क -34

Debicharan.sedai@gmail.com/ June 16, 2023/ लघुकथा/ 0 comments

देवीचरण सेडाईँ
अवचेतन मस्तिष्क -34.
लघुकथा (धारावाहिक) आज त गाउँमा भेला हुने दिन । कसैले केही खबर पनि गरेका छैनन् । चन्द्र,कृष्ण कसैको केही खबर छैन । मन्त्रीहरू आउने कुरा के भयो कोनि ? ती मानिसहरूले बनाएका घर सरकारले हटाउने हो कि हैन ? कृष्णले मन्त्रीलाई सबैकुरा सुनाए होला! के भयो कसो भयो भन्ने सोचले पिरोलिएका छन् जीतेन्द्र। आफ्ना मनमा हरेक कुरा खेलाएर बसेका बेला चन्द्रले काका नमस्कार भन्दा झस्किँदै चन्द्र तिर फर्किएर अँ नमस्कार भन्छन् ।

  • अनि चन्द्र के के हुँदैछ हौ ?
  • के हुनु काका ! आज के कसले के के भन्ने हुन तिनै कुरालाई कसरी अघि बढाउने भन्ने सल्लाह गरौँ भनेर आएको।
  • अनि कृष्णलाई पनि लिएर आएका भए हुन्थ्यो।
  • काका दुईदिन भयो कृष्ण छैनन्।
  • कहाँ गए कृष्ण?
  • विधायकसँग लागेर मन्त्रीलाई भेट्न गएका छन् । ती पारिपट्टि बसेका मान्छेका विषयमा मन्त्रीसँग कुरा गर्ने भन्दैथिए।
  • ती मानिसका विषयमा हामीले के कुरा गर्नु र ? सरकारी विधान अनुसार सरकारले व्यवस्था गरिहाल्छ नि ।
  • हो नि , तिनीहरू कहाँबाट कहिले कसरी आए त्यो त सरकारी पक्षलाई जनाउनु त पर्‍यो नि ।
  • चन्द्र ती मानिसले कृष्णलाई त अप्ठ्यारो पार्दैनन् ?
  • केही हुँदैन काका, सरकारले सबै कुराको छानबिन गरेर व्यवस्था गरिहाल्छ नि । अब हामी जाउँ, गाउँका मानिस भेला भए होला भनेर चन्द्रले भनेपछि दुबै उठेर जान्छन्।
    गाउँका सबै मानिस मन्त्री,विधायक आउने भनेर तयार गरेको सभा गृहमा भेला भएका रहेछन् । भरे मन्त्री हरूलाई कसरी सम्वर्धना गर्ने र कसरी गाउँका कुरा राख्ने त्यस विषयमा सल्लाह गर्न भेला भएका सबैले गाउँकै वयोज्येष्ठ व्यक्ति हरिहर अधिकारीलाई सभा सञ्चालनको दायित्व दिने र विष्णु कट्टेल,विजय राणा र नगेन्द्र आचार्यलाई सम्वर्धना गर्ने अभिभारा दिए । सभामा सबैकुरा राख्ने काम भने भुर्तेल कृष्ण र चन्द्र कट्टेलाई सुम्पिए ।सभा राम्रो र रोचक बनाउने काममा अविनाश र कल्याणलाई लगाएर तीनबजे भित्रमा सबै उपस्थित हुने भनेर सबै हिँडे।
    ठिक साढे तीनबजे सभा आरम्भ भयो । सभाको उद्देश्य कृष्णले गरेपछि समाजकल्याण मन्त्रीलाई बोल्न भनियो । उनले गाउँको सर्बोपरी विकास गराउने र समाजले चाहेको उद्योग बनाउने कुरामा सरकारले पाइला चाल्ने कुरा जनाए । त्यसपछि नै राज्यका मुख्यमन्त्रीले अवैध रूपमा बसोबास गरेका मानिसलाई उच्छेदगर्ने ,खाली ठाउँमा रुखबिरुवा लगाउने,कपास उद्योगका लागि व्यवस्था गर्ने र प्रत्येक एकसय किलोमिटरमा एक एकवटा हेलिप्याड बनाउने काममा हाम्रो सरकार कटिबद्ध भएको कुरा सुनाए । आगामी दश वर्ष भित्रमा हेलिप्याड निर्माण गर्ने काम सम्पूर्ण गरेर राज्यमा यातायातको नयाँ व्यवस्था गर्ने योजनाका लागि केन्द्र सरकारले सम्पूर्ण दायित्व लिएको कुरा पनि मुख्यमन्त्रीले जनताका सामु सुनाए । सरकारको यस किसिमको योजनाका लागि सबैले सरकारलाई सह्राना गर्दै देशको उन्नतिमा सरकारले चालेका कदमलाई स्वागत गरे । त्यसपछि नै चन्द्रले धन्यवाद ज्ञापन गरेर सभा सञ्चालनमा सबैको योगदान रहेको जाहेर गरी हरिहर अधिकारीले कृतज्ञता ज्ञापन गर्दै सभा सम्पन्न भएको सुनाए । सभाबाट मन्त्रीहरू गएपछि सबै खुसीका साथ घर घर लागे ।
Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *