अवचेतन मस्तिष्क -27
-देवीचरण सेडाईँ
आज सोमबार भनेर होला बिहान बिहानै हीराले बजार जाने कुरापो गरिन् । म चाहिँ समाजमा भएको विसङ्गतिको कुरा सोचेर बसिरहेको थिएँ,उनले अकस्मात भनिन् – “सुन्नु भो – आज चाहिँ त्यो सिमसिमे जुत्ता चप्पल पसलबाट एकजोडी चप्पल लिएर आउनु होला! चप्पल नभएर कतै जान नसक्ने भएकी छु ।”
-अनि अस्ति ल्याएका चप्पल के भए ?
– अस्ति हो? छ महिना भए ,केही न केहीका चप्पल फेला पर्नेछन् यसपाली।
– ल हुन्छ नि त , यसपाली सिमसिमे जुत्ता चप्पल पसल कै ल्याइदिउँला । दश बजिसक्यो म हिँडे है ।
– अब आज फेरि कसले के सुनाउने हो ! यो समाजमा अर्काको कुरा नगरि कसैको दिन जाँदैन कि क्या हो ! एउटाले अर्कालाई दोषारोपण गर्ने कस्तो जीवन शैली रहेछ यो मान्छेको?
ऊ आफ्नै व्यवस्था मिलाउने कुरा सोच्दै बजार पुगेको थाहै पाएन। एकातिर समाजमा भएको विसङ्गतिले उसलाई पिरोलेको छ भने अर्कातिर आफ्नो घर बनाउने कुराले उसलाई खटपटि मच्चाएको छ । बजार पुगेर ऊ जुत्ता चप्पल पसल पुग्दा अचम्म भयो । हन के भयो बजारको दिनमा पनि पसल बन्द ,किन होला ? ऊ छेवैको पसलमा गएर सोध्छ -ए दाइ यो पसल खोलिने रहेनछ ?
-कसले खोल्ने खै ! पसलका मालिक वितेको हप्तादिन पनि भएको छैन । पैँतालिस दिन नभै खोल्दैनन् होला!
– कसको पसल हो र यो ?
– ए तपाईँलाई थाहा छैन ? यो तिनै सुवेदारको पसल हो नि । फेक्टरी पनि उनैको पसल पनि उनैको हो ।
– से भगवान मगरले पनि जुत्ता चप्पलको फेक्टरी खोलेको ?
– अनि के हुन्छ र ? यो त व्यवसाय पो हो त । व्यवसायमा जातको कुरो कसरी आउने?
– तै पनि छालाको व्यवसाय मगरले गर्दा सुहाउँछ र?
– यसमा सुहाउने र नसुहाउने कुरा किन ?
मान्छेले गर्ने काम मान्छेले नै गर्छ । यसमा फरक पर्ने कुरा के छ र ? ऊ त्यो सुनको पसल पराजुली साइँलाको हो । सुनको पसल खोल्दा ऊ सुनार हुने हो र ?
बजार मानिसको सुविस्ताका लागि बनाईएको हुन्छ । यहाँ जात पात भन्ने कुरा हुँदैन। बजारमा कसको के जात कसले सोध्ने? ऊ त्यो हाम्रो होटलमा भान्से सुनार कान्छाकी बुहारी छे ।अब त्यहाँ गएर नखाने मान्छे छन् र ? हेर्नुहोस् यो जात पात भनेको कुरा अघिको जमानामा थियो । मान्छे सफ्फा सुघ्घर भन्ने जान्दैनथे । त्यसले मान्छेमा घृणाको भाव उब्जिन्थ्यो अनि छुवाछुतको भावना फैलिएको थियो । अहिले त्यस्तो छैन । जसलाई सानो जात भनिन्थ्यो ऊ पनि अहिले मास्टर ,हाकिम भएको छ । समय परिवर्तन भएको छ । हामी समय अनुसार फेरिन नजाने मानिस हुन् सक्दैनौँ ।
– ल दाइ धेरै कुरा सुनाउनु भयो अव म लाग्नुपर्यो भनेर जीतेन्द्र घर फर्क्यो।