अवचेतन मस्तिष्क -28
-देवीचरण सेडाईँ
आज आइतबार। हिजै चन्द्रलाई गुरुजीका घर जानु है भनेको थियो । ऊ गएको नगएको केही खबरै गरेन । त्यसैले जीतेन्द्रले हीरालाई भन्छ – सुन्यौ मैले हिजो चन्द्रलाई गुरु कहाँ जान भनेको थिएँ,तर उसले खबरै गरेन । “ऊ गयो कि गएन थाहै भएन। म आफैँ गुरु कहाँ गएर आउनु पर्यो भनेर सोच्दैछु।”
– “हैन जानु पर्दैन। आज गुरुजी माथ्ला घर कान्छीहरूकहाँ आउनु हुन्छ रे त्यहीँ गएर भेट्नु नि ।”
– ल हुन्छ। राम्रै भयो, तर कतिखेर आउने रे?
– त्यो त थाह छैन ।गुरुजी आजको खबर कान्छीले दिन्छु भनेकी छिन् ।
– चन्द्रलाई पनि त बोलाउनु पर्ला !
उनीहरू एक आपसमा कुरागर्दै गरेका बेला कान्छी पनि टुप्लुक्क आइपुगिन् र दुबै लोग्ने स्वास्नी बसेर गफ गर्दै गरेका नजिक आएर बसिन्।
कान्छीले भनिन् – ” दिदी गुरुजी आएको खबर दिनु है कान्छी भन्नुहुन्थ्यो नि ,गुरु र चन्द्र, अधिकारी बा घर गएका छन् अहिले नै आइपुग्छन्।”
भन्दा नभन्दै दुबै आइपुग्छन्। जीतेन्द्र बाहिर निस्केर दुबैलाई भित्र लिएर जान्छ। भित्र पस्नासाथ गुरुले भन्नुभयो – ” जीतेन्द्र बुधबार घरको साइतको खाँबो गाड्ने। त्यसैले भोलि नै खाडल खन्न लगाउनु ,पर्सी मङ्गलबार भएको हुनाले भोलि नै खन्नु राम्रो हुन्छ ।”
– ” हुन्छ गुरु ।”
– छत हालेर बनाउने हुँदा खाडल ठूलै खन्नु पर्ने हुन्छ। सायद मिस्त्रीले भनेकै होला हैन र ?
– हो गुरु मिस्त्रीलाई पनि बोलाउँछु नि ।
जीतेन्द्रलाई त्यति भनेर गुरु बाटो लाग्नुभयो, चन्द्र र जीतेन्द्र दुबै मिस्त्रीका घर तिर लागे ।
भोलिपल्ट मिस्त्रीले खाडल खन्ने दुईजना मान्छे लिएर आए । एकैछिनमा भुर्तेल कृष्ण पनि आइपुगे । खाडल खन्नेहरूले तीन फुट जति खनेपछि तलबाट तातो हावा आएको अनुभव गरे । उनीहरूलाई श्वास लिन पनि अप्ठ्यारो भएको कुरा गरे । त्यो खबर एकैछिनमा फिँजिओ । भूगर्भ शास्त्री हरू आएर हेरे र यहाँ त युरेनियम हुनसक्छ भन्ने आशङ्का गरे । उनीहरूले सरकारी मानिस बोलाए । खबर10 चेनलले त्यो खबर टेलीविजन द्वारा विस्तार गर्यो । खाडल खन्न बन्द गरियो ।
भूगर्भ विभागले त्यहाँको माटो परीक्षण गरेर युरेनियम भएको निश्चित गरेपछि सरकारले लिने व्यवस्था के हुने हो त्यसको बाटो पर्खिनु पर्ने हुनाले जीतेन्द्र अलपत्र परे झैँ भयो ।
भोलिपल्ट टेलीविजनमा खबर आयो 9 किलोमिटर दायरा भित्रका सबै मानिस त्यस गाउँबाट हटाउने रे । सरकारी व्यवस्था अनुसार उनीहरूलाई सरकारले प्रबन्ध गर्ने भन्ने जाहेर भयो। जीतेन्द्र भने आफ्नो काम हुन नसकेको कुराले दुःखित देखिएको थियो।
केहीदिन पछि सरकारले घोषणा गर्यो – त्यस ठाउँको 9 किलोमिटर दायरा भित्रका तीनसय घर मानिसलाई तीन तीन बिघा जग्गा र उनीहरूका नाममा भएको जग्गालाई बिघा प्रति बीस लाख गरेर दिने निधो सरकारले गरेको छ । अघिल्लो महिनाको दश तारिख सबै तीन सय घरलाई जग्गा वितरण गरेर त्यो ठाउँलाई सुरक्षित गर्ने खबर भयो । जीतेन्द्रले आफ्नो जग्गाको मोल एक करोड पाउने भयो । त्यहाँबाट बीसकोश टाढा भएको सरकारी जग्गा ती मानिसलाई वितरण गरिने भयो। सरकारले लिएको निर्णयले सबैमा आनन्दको लहर फैलियो।