अवचेतन मस्तिष्क

Debicharan.sedai@gmail.com/ September 15, 2022/ लघुकथा/ 0 comments

-देवीचरण सेडाईँ

उसको नाम जितेन्द्र हो ,तर सबैले डाइबर काले भनेर जान्दथे । जाँडरक्सी भने ऊ कहिल्यै नखाने । उसको बानी बेहोरा एकजना आदर्शवादी मान्छेको जस्तै लाग्ने,तर चिया अनि तामुल पानमा उसको लत बसिसकेको हुनाले उसलाई आदर्शवादी भन्न नमिल्ने हुन्थ्यो। त्यस उप्रान्त पनि उसको अर्को एउटा नराम्रो बानी पनि थियो त्यो तास खेल्ने। तास खेल्न बस्यो भने उसका लागि दिनरात बराबर हुन्थ्यो।
राति तास खेलेका ठाउँबाट उसैका छोराले लिएर गएको थियो। उसलाई छोराले भनेको थियो -“बा भोलि के गाडी चलाउनु पर्दैन?”

“पर्छ नि गाडी नचलाए कसले खानदिन्छ?”

” अनि किन तास खेल्न लाग्नु भएको त?”
यसरी बावुछोरा गफगर्दै घरपुग्दा दुई बजिसकेको थियो । उसले चारबजे काममा जानुपर्ने । ऊ डेढ घण्टा सुतेर उठ्यो काममा जान ।
बिहान गएर बेलुका आउने उसको दैनन्दिनी थियो ।
तीनसय कि.मि.बाटोमध्ये पचास कि.मि. पहाडी बाटो पर्थ्यो। ऊ बिहान हिँडेर दिउँसो पुग्यो। एकघण्टापछि नै उसले फर्किनुपर्छ। त्यही एकघण्टामा खानु पनि पर्ने ।
समयले पर्खेन , उसको फर्किने बेला भएको हुँदा ऊ गाडी भएतर्फ गयो । उसलाई अहिले भने गाडी चलाउन मन लागेकै थिएन,तर पनि बाध्यता उसको सामु अडिग छ । जानैपर्छ उसले । उसले गाडी हिँडायो । उसका आँखा एकोहोरो हेरिरहेछन ,तर मस्तिष्कले सोच्दछ ऊ समुद्रमा समुन्द्री जहाज चलाइरहेछ । ऊ देख्छ उसका अघि समुन्द्री छाल आउँदै गरेको। तुफान भित्रपस्छ उसको जहाज ।अकस्मात उसका कानमा मानिस चिच्याएको आवाजले घेर्छ, उसले उसको मस्तिष्कलाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयास गर्छ तर त्यतिखेरसम्ममा गाडी अनकण्टार खाडलमा पसिसकेको हुन्छ। जोगाउन सक्दैन ।सबै त्यही भुमरीमा बिलाउँछन्।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *