अवचेतन मस्तिष्क -32

Debicharan.sedai@gmail.com/ April 29, 2023/ लघुकथा/ 0 comments

देवीचरण सेडाईँ
अवचेतन मस्तिष्क -32
कथा (धारावाहिक) ।
बिहानको नित्यकर्म सिध्याएर बाहिर आँगनमा बसेका जीतेन्द्र आफ्नै ध्यान धारणामा निमग्न छन । अब त हाम्रो गाउँ एउटा आदर्श गाँउ हुन्छ भन्ने पूर्ण विश्वास भएको छ उनलाई । नदी पारिपट्टि भएको जग्गामा सरकारले कपडा उद्योग बनाउने कुरालाई फेरि आफ्नो सोचमा ल्याएर निमग्न हुन्छन् उनी । हाम्रा गाउँका वरिपरि भएका गाउँका मानिसले कपासको खेति गरिदिनु हो भने उद्योग चल्न गाहारो हुने थिएन तर त्यसकुरालाई लिएर विचार गर्ने मानिसको अभाव भएको अनुभव गर्छन उनी ।

  • ए सुन्नु भो , हिजो भुर्तेल कृष्ण र चन्द्र आएका थिए।
  • किन ? के भनेर गए ?
  • आज छेउछाउका सबै गाउँका मानिस बोलाएका छन अरे , त्यसमा नगई नहुने अरे । उनीहरूले एउटा नयाँ योजना गरेका छन अरे र त्यो योजना सफल भए देशभरिमा हाम्रो गाउँ नाम चलेको हुने रे ।
  • हो ,मैले सोचेकै कुरो उनीहरूले सोचेछन क्यार!
  • कहाँ र कुन समय भन्थे?
  • हाम्रो पुस्तकालयमा दुई बजे भन्थे ।
    ऊ फेरि सोच्नलाग्छ । यी जम्मै गाउँमा भएको जग्गा हिसाव गर्दा कपासको खेति गर्ने जग्गा लगभग बाह्र तेह्र हजार बिघा हुन्छ होला। त्यति जग्गामा राम्रो खेति भयो भने एउटा सानोतिनो उद्योग अवश्य चल्नसक्छ । त्यो त होला तर त्यति गरेर मात्र गाउँको उन्नति होला र ! गाउँका पढे लेखेका केटाहरूले लोकसेवा आयोगमा प्रतिस्पर्धा गर्न सकेमात्र गाउँ विकसित हुनका साथै शिक्षा र कर्मको विकास हुने थियो। मैले जितेर राखेका बाह्र लाख रुपियाँ मध्ये दुई लाख जति खर्च गरेरै भए पनि दुई तीन जना युवालाई लोकसेवामा ल्याउन सके कसैले नसोचेको हुनेथियो।
    ऊ यिनै कुरामा निमग्न भएकै बेला चन्द्र आइपुगेको हुन्छ।
  • काका , के कुरा सोचिरहनु भएको छ?
    -खै के सोचेको भन्नु चन्द्र? तिमीहरूले भनेको र गर्न आँटेको कुराले मलाई पनि नछोएको हैन ! त्यही कुरालाई कसरी अघि बढाउने भन्ने सोच्दै गर्दा तिमीहरूको योजना काकीले मलाई सुनाइन । मलाई असाध्यै खुसी लाग्यो। यस अतिरिक्त पनि मेरो सोचमा अर्को एउटा कुरो आएको छ , त्यो चाहिँ गाउँका पढे लेखेका केटाहरूलाई लोकसेवा आयोगका लागि तयार गराउने भन्ने हो ।
  • कसरी काका ?
  • चन्द्र यदि हाम्रा छोरा छोरीले लोकसेवा आयोग उत्तीर्ण भएर देशको शासन तन्त्रलाई सम्हाल्न सकेभने एकातिर हाम्रो गाउँको नाम अर्कातिर जातिको नाम । त्यसैले यो कुरामाथि हामी सबैले सहयोग गर्नुपर्ने कुरो हो मेरो ।
  • हो काका, तपाईंको सोच सह्रानीय र उत्तम मान्नुपर्छ।
  • भरेको सभामा यो कुराको पनि छलफल गरे कसो होला?
  • राम्रो कुरा हो काका। कृष्णलाई पनि यो कुरा सुनाउनु पर्छ। तपाईंका प्रत्येक कुरा नै देश,जाति र समाजको उन्नतिका लागि आएका जस्तो लाग्छ।
  • हो चन्द्र देश र जातिको उन्नति भएन भने जीवनको केही मूल्य रहँदैन। त्यसैले जीवनको मूल्य खोज्नुपर्छ भने जनताले देश र जाति प्रति गरेको कार्यलाई हेर्नुपर्छ।
  • ठिक छ काका, अहिले म जान्छु तपाईं अलिक छिटै आए हामीलाई केही सहयोग हुन्छ। म जानुपर्‍यो भनेर चन्द्र उठ्छन्।
    दिउँसो तीनबजे पुस्तकालयको बैठक कोठामा भेला भएका छन प्रत्येक गाउँका मानिस। सभा आरम्भ हुन्छ । सभाका अध्यक्ष छन हरिहर अधिकारी।
    सभामा राखेका प्रस्तावलाई सबैले समर्थन गरेपछि आउँदो महिनामा उद्योग मन्त्री कलिता र उद्योग सञ्चालक खतिवडालाई बोलाएर सभाराख्ने सल्लाहका साथ सबै एकमतोमा पुग्छन्। त्यसपछि नै गाउँका पढे लेखेका केटाहरूलाई लोकसेवा आयोगमा सहभागी गराउने विषयमा चर्चा हुन्छ। जीतेन्द्रले आयोगमा सहभागी हुन खोज्ने विद्यार्थीलाई सहयोग पुर्‍याउन रकमको बन्दोबस्त हुनुपर्ने कुरा सभामा राख्छन । गाउँमा बी. ए. र एम.ए. उत्तीर्ण भएका दश पन्ध्र जना युवालाई योग्यताको आधारमा लोकसेवामा सहभागी हुनका लागि तैयार गराउने उद्देश्यले पाँच छ लाख रुपियाँ खर्च गर्ने योजना बनाउँछन्। त्यसमध्ये दुईलाख जीतेन्द्रले सहयोग गर्ने कुरा सर्वसन्मतिले ग्रहण गरेपछि सभा सकिन्छ। सभामा उपस्थित सबैले सभाको उद्देश्य र मार्गदर्शनलाई अति उत्तम माने । देशलाई सामाजिक आर्थिक र राजनैतिक दिशामा कसरी अघि बढाउन सकिँदो रहेछ त्यसको ज्ञान सभामा आएका प्रत्येकले धेर थोर उपलब्धि नगरेका हैनन । सभाका सिद्धान्तलाई आफ्नै कुरा हो भन्ने सम्झेर सबै घर घर लागे ।
Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *