अवचेतन मस्तिष्क – 46.

Debicharan.sedai@gmail.com/ April 1, 2024/ Uncategorized/ 0 comments

-देवीचरण सेडाईँ


       व्यवहारिकतामा र लेखाइमा  भिन्नता रहेको हुनाले नै पढे लेखेकालाई पनि व्यवहारिक पक्ष असहज लागेको हुनुपर्छ। व्यवहारिक पक्षमा लोकाचारको बढी महत्व हुन्छ। त्यही लोकाचार कैयौँ कालसम्म रहेपछि संस्कृतिका रूपमा चिनिन पुग्छ।यी हाम्रा संस्कृति त्यसरी नै बनिएका होलान। यस्तै यस्तै कुरा उनका मनमा आउँदा हाम्रा बिहेहरूमा जन्ती जाने कुराले ठाउँ पाउँछ। त्यही समयमा त्यहाँ नगेन्द्र र कृष्ण आइपुग्छन ।
        के सोचमा लाग्नु भएको छ दाजु भनेर नगेन्द्रले सोधेको प्रश्नले झक्झक्याउँछ जितेन्द्रलाई।
–  ए नगेन्द्र लौ बस । होइन हौ नगेन्द्र यो संस्कार, परम्परा र हाम्रा रीतिरिवाजका विषयमा सोचेको नि !
– किन सोच्नु हौ दाजु ? समय सँगसँगै आफू नलागे हुँदैन। बेकारमा टाउको दुखाउनु किन ?
– भन्छौ नि , हाम्रा कतिपय मानिस परम्परा कि  परम्परा भनेर कोकोहोलो मच्चाउँछन नि तिनै मानिसलाई उत्तर दिने बाटो खोजेको नि !
– कस्तो उत्तर पाउनु भयो त?
– यो परम्परा भनेको समय सापेक्ष हुँदो रहेछ । उहिले हाम्रा मानिसले राति मात्र बिहे हुन्छ भन्ने सोच राखेका थिए , तर किन राति गरिन्थ्यो त्यो कुराको जरासम्म पुगेका थिएनन र बिहे गर्ने भन्ने बित्तिकै राति हुने बुझ्दथे । जब यातायात सुगम भयो मानिस शिक्षा दीक्षामा अघि बढदै गए त्यतिबेला भने सबैले जाने बिहे दिउँसो पनि गर्न सकिने रहेछ भन्ने । अहिले त झन दिउँसो गएर बिहे गरे अनि राति फर्केर आए । चन्द्रले पनि त्यसै गर्ने भन्दैथे ।हाम्रा मानिसहरू बिहेमा सिलोक, कवित गाउने हाम्रो परम्परा भन्थे तर समय सँगसँगै ती कुरा पनि हराउँदै गए । उहिले रात कटाउने आशय र रमाइलो माहौल तयार गर्न सिलोक कवितको प्रतिस्पर्धा हुने गर्थ्यो तर अहिले ती सबै कुरा हराइसके । साहस र सुरक्षाका लागि जन्ती भएर जाने प्रचलन अहिले हराउन लागिरहेको छ। यसरी हेर्दा परम्परा पनि एकदिन नयाँ तरिकामा टुङ्गो लाग्ने रहेछ भन्ने सोच आएर मलाई बिथोलेको हो । हेरन चन्द्रले बिहेको भोज खुवाउने भनेर सबैलाई बोलाएका छन तर जन्त जाने चाहिँ केही मुख्य मानिसलाई मात्र निम्तो दिएका रहेछन । किन सबैलाई जन्ती जान नबोलाएका भन्दा उनले मलाई भनेका थिए काका अघिको जस्तो समय छैन अहिले । अघि मानिसले सुरक्षाका लागि जन्ती लानेगर्थे अहिले त्यो परिवेश छैन ,त्यसैले पचास,सय मानिस जन्ती लानुपर्ने वाध्यता अहिले रहेको छैन । दुईचार जना गएर बिहे गरेर आयो अनि यहाँ आफन्तहरू बोलाएर भोज खायो ,किन नचाहिँदो आडम्बर देखाउनु भन्ने धारणा राम्रो हो भन्छु म त । जन्ती धेरै लगेर किन मानिसलाई दुःख दिनु भन्ने उनको सोच नराम्रो हैन ।
– अनि कृष्ण , तिमीलाई त जन्ती जान भनेकै होला हैन र ?
– हो काका भनेका छन । जम्मा दशजना जति जाने रे । एकबजे गएर नौबजे आइपुग्ने सल्लाह भएको छ।
– जन्त त जाने विचार मेरो पनि थियो तर चन्द्रले पहिले नै काका यहाँको सबै व्यवस्थापन गजेन्द्र काका र तपाईँले मिलाइदिनु पर्छ भनेर हामीलाई पन्छाइदिएका हुन । जन्ती भएर जानेहरूले आफ्ना छोराछोरी छर छिमेकका छोराछोरीको बिहे गर्नका लागि केटाकेटी हेर विचार गर्ने चलन उहिले देखिनै चलेको थियो तर अहिलेका बिहेमा त्यस्ता कुराको कुनै महत्त्व नै रहेको छैन । अहिले त केटाकेटीले आफै कुरा मिलाउन लागिसकेका छन । सोझा सिधा केटाकेटीलाई भने अहिलेको समयमा अप्ठ्यारो भएको जस्तो लाग्दैछ । जे होस जोडी सबैका बाँधिन्छन् होला नि! भोलि कसार बटार्ने दिन एकछिन भए पनि चन्द्र कहाँ पुगेर आउनुपर्छ। यहाँ बसेर यिनै कुरामात्र गरेर के गर्नु ? उहा अरूका पनि सुन्न पाइन्छ, जाउँ होला कृष्ण। त्यत्तिकैमा हीराले चिया नास्ता ल्याएर राखिदिइन । दुबैजनाका बीचमा फेरि एकछिन सूर्यमुखीको तेलका विषयमा चर्चा गरेपछि चन्द्रको घर भनेर निस्के ।

Share this Post

Leave a Comment

Your email address will not be published. Required fields are marked *