अवचेतन मस्तिष्क

देवीचरण सेडाईँ
अवचेतन मस्तिष्क – 41.
लघुकथा (धारावाहिक)

        समय सँगसँगै हुँदैछ परिवर्तन। परिवर्तन भैरहेछ मानिसको सोच र स्वभाव। ज्ञानबाट विज्ञानले बटुलिरहेछ नाना प्रकारका तकनीकी र खटाइरहेछ दैनन्दिन जीवनमा। यही परिवर्तनको आधारमा गाउँमा उद्योग बनाउने चलिरहेको छ तर्खर । गाउँका युवाहरू जुटेका छन गाउँ र देशको विकास गर्न । गाउँका पढे लेखेकाहरूलाई आयोगका परीक्षाका लागि पनि तयार गराउन लागिरहेछन । जीतेन्द्र यस्तै यस्तै कुरामा अल्झिरहेका बेला हीरा आएर बोलाउँदा ऊ वास्तविकतामा ओर्लिन्छ र भन्छ – ‘ के कुरा पर्‍यो हीरा?’
-हीराले भन्छे ‘ समय असमयको केही विचार छैन जतिखेर पनि तिनै केटाहरूले के गर्ने हुन ? गाउँको उन्नति कसरी हुने हो ? घरको चिन्ता केही छैन ,मैले सबैतिर भ्याउनु कसरी?

  • हैन, के भयो भन्या ? के भयो र तिमीलाई झ्वाँक चलेको?
  • खै के भयो भन्नु ! तपाईँलाई साँझ बिहान एउटै चिन्ता छ घरमा के छ के छैन के हुँदैछ केही  हेर्ने फुर्सद छैन ।
    -छ छ मलाई पनि छ चिन्ता। घर कसरी चलेको छ त्यो पनि थाह छ मलाई। तिमीले घर बोकेर हिँडनु परेको छैन । घरको काम गर्नुका साथसाथै समाजको पनि उन्नति गराउने ध्येय हो हाम्रो। समाजको विकास हुनसके देशको विकास सोतह हुन्छ भन्ने धारणा राखेर कामगर्ने हाम्रो धारणा । प्रत्येक घर घरको विकासले गाउँको विकास हुने र गाउँको विकास भए देशको विकास हुने कुरालाई आत्मसात गरेर हिँडने हाम्रो लक्ष्य हो ।
  • भैगयो नि, गर्नु , तर आफूलाई बिर्सेर हैन । घरको सबैथोक छाडेर हैन । अनि अस्ति त दुईलाख रुपियाँ केटाकेटीलाई आयोगका लागि तयार गराउन दिने र रहल रकमले गाडी किन्ने भनेको सुनेकी थिएँ ,तर खै केही गरेको न देखेँ न सुनेँ ! के के गर्नुभयो मलाई त  सुनाउनु नै भएन त !
  • ए त्यही कुराका लागि तिमी आवेगिक भएकी? राम्ररी सोध्नु नि ! किन झर्किनु?
  • म कहाँ झर्किएँ र ? मलाई केही थाह नभएर सोधेकी मात्र पो त !
  • ल भैगो अब त थाह भयो नि ? अहिले म चन्द्रलाई भेटेर आउँछु पर्सी सोमबार हामी शहर जाउँला भनेर जितेन्द्र घरबाट हिँडेपछि नै लोकसेवा आयोगको कुराले छोपिदिन्छ। खै के गर्छन हाम्रा केटाहरूले? पाँच सातजनाले आयोग उत्तीर्ण गरे त राम्रै हुन्थ्यो, जातिको उन्नति हुन्छ कि भन्ने सबैको सोच कति सफल हुने हो ? यस्तै यस्तै कुरा खेलाउँदै चन्द्रको घर आइपुगेको थाहै भएनछ। उनी बाटो काटेर गएको देखेर चन्द्रले घरबाटै काका कता हिँडनु भएको भन्दा पो घर काटेर गएको थाह हुन्छ।उनी अघि नबढेर तगारोबाट भित्र पस्छन्।
  • हैन हौ चन्द्र यो सोच पनि कस्तो,म तिमीलाई नै भेट्न भनेर आएको हरेक किसिमका सोचले बाटो काटेर गएको थाहै पो भएन ।
  • काका के को त्यस्तो गहिरो सोचमा पर्नुभयो र बाटो काटेर गएको थाह भएन?
  • नभन चन्द्र, मेरो सोचमा यीनै केटाहरूको कुरो बाहेक अन्य कुनै कुरो आउन सकेकै छैन । यदि हाम्रा यी केटाहरूमा धेरैले लोकसेवा उत्तीर्ण गर्नसके मेरो चिन्ता प्राय सकिने थियो।
  • काका हुने कुराको कहिल्यै चिन्ता गर्नु अनुचित हुन्छ।जे हुनुपर्ने हो त्यही हुन्छ नै भनेर गीतामा भनिएकै छ ,व्यर्थमा सोचेर आफूलाई किन दुर्बल बनाउनु ?
  • चन्द्र म दुर्बल हुन खोजेको हैन, यदि हाम्रा केटा सफल भए हाम्रो उन्नति हुनसक्थ्यो कि भन्ने सोच राखेको मात्र हो ।
  • भैगो काका , समयले सबैकुरा देखाउँछ जे जति हुनुछ ।
    ‌- चन्द्र, सोमबार साँझ तिमी मेरो घर आउनु, कृष्णलाई पनि लिएर।
  • किन काका के शुभकार्य गर्न आँट्नु भयो ?
  • आएपछि थाह भैहाल्छ नि किन आतुर हुनु ? भैगो तिमीहरू आउनु अहिले लाई म लागेँ भन्दै जितेन्द्र त्यहाँबाट हिँडेर घरतर्फ लागेपछि अरू अरू सोचाइ आउन लागेको उनलाई थाहलाग्छ ।